Tuesday, September 8, 2015

विश्व आदिवासी दिवस

07 August 2015

सन् २००५ को विश्व आदिवासी दिवसको मूल कार्यक्रम पहिलो पल्ट राजधानी बाहिर पोखरामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथी हुनुहुन्थ्यो भूगोलबिद स्व. डा.हर्क गुरुङ ।
पोखराको दीपेन्द्र सभागृहमा उपस्थित हजारौं आदिवासी जनजातिहरुलाई सम्बोधन गर्दै स्व. गुरुङले तात्कालिन राजनीतिक अवस्थाप्रति संकेत गर्दै भन्नू भएको थियो, "हामी सबैले चाँडैनै देशको निम्ति निकै ठूलो योगदान दिनु पर्ने बेला आउँदैछ, यो बेला योगदान नदिने हो भने पछि भाग खोज्नुको कुनै अर्थ रहने छैन ।"
केही महिनापछि ...डा. गुरुङ लगायत विभिन्न क्षेत्रका दिग्गज ब्यक्तिहरु चढेको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना हुन पुग्यो । भूगोलबिद डा. गुरुङको शरीर भूगोलले निले पनि पोखराको कार्यक्रममा उनले बोलेको कुरा यथार्थतामा परिणत भयो । एक बर्ष नपुग्दै २०६२-६३ को विशाल जनआन्दोलनले निरंकुशतन्त्र मात्र फालेन राजतन्त्र फाल्ने जग पनि खडा गर्यो ।
२०६२-६३ को जनआन्दोलनमा लाखौं आदिवासी जनजातिहरु सडकमा ओर्लिए । निरंकुश राजतन्त्रको अन्त्यसँगै सबै प्रकारको बिभेदको अन्त्य, धर्म निरपेक्षता, समानुपातिक-समावेसी लोकतन्त्र र पहिचान सहितको सङ्घीयताको गगनभेदी नारा लगाए सडकमा । जसको फलस्वरुप पुनः स्थापित संसदको पहिलो बैठकले नै धर्म निरपेक्षलाई स्वीकार गर्यो । आइ.एल.ओ. महासन्धी नं १६९ लाई अनुमोदन गर्ने काम गर्यो । तर सङ्घीयताको सवालमा अन्तरिम संविधान चुप बसेपछि ऐतिहासिक मदेश आन्दोलनको उठान भयो, सङ्घीयतामा पहिचान थप्न फेरि आदिवासी जनजातिहरुले अर्को आन्दोलन गर्नु पर्यो । यी विभिन्न आन्दोलनको बावजुद अन्तरिम संविधानमा कायम भएको धर्म निरपेक्षता, पहिचान सहितको सङ्घीयता र जनआन्दोलनका कतिपय मर्महरुलाई अहिले आएर संविधानमा उल्टाउने कसरत भैरहेको छ ।
ठिक यहीबेला हामी अर्को विश्व आदिवासी दिवस मनाउँदैछौं । यसपटकको विश्व आदिवासी दिवसको मूल कार्यक्रम दवाव स्वरुप सडकमा मनाउने निर्णय नेपाल आदिवासी जनजाती महासंघले गरेको छ । यो बेला डा. हर्क गुरुङ त हाम्रो बीचमा हुनुहुन्न तर उहाँको बिचार बोक्ने हजारौं पहिचानबादीहरु सडकमा छौं । कठोर संघर्षपछि प्राप्त भएको उपलब्धि खोसिएको टुलुटुलु हेरेर बस्नु पक्कै हाम्रो स्वाभिमानले दिने छैन । यसपटकको विश्व आदिवासी दिवसले पहिचान र समान अधिकारको लागि संघर्ष गर्न हामी सबैलाई थप उर्जा मिलोस्,,यहि कामना ।

No comments:

Post a Comment